Sunday, December 4, 2011

अतितलाई फर्किएर हेर्दा------ डा. शशांक कोइराला

तारिणीप्रसाद कोइराला अर्थात् मेरो तारिणी बुबाका बारेमा जब मलाई केही सस्मरण लेख्नका लागि ज्योतिदाले भन्नु भयो तबदेखि म निरन्तर उद्वेलित भएँ। म अत्यन्त ठूलो असमन्जसमा परेँ। मैले ठम्याउन सकिन कहाँबाट सुरु गरौँ र अन्त कसरी गरौँ भनेर। तारिणी बुबा कल्पना र सृजनाको क्षतिज हुनुहुन्थ्यो जसको न आदि छ न त अन्त्य नै। नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा ‘अननोन सोल्जर’ हुनुहुन्थ्यो जसले न त आफ्नो गाथाको स्तम्भ नै राख्न चाह्यो, न त शालीक नै खडा गराउने चाहना राख्यो, न त कसैसँग प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदानको चर्चा गर्‍यो। त्यसैकारण मैले ‘द अननोन सोल्जर’ भनेको हुँ।

तारिणी बुबाले २००८ सालदेखि २०१५ सालसम्मको नेपाली कांग्रेसको आधाभन्दा धेरै लडाई—म आज बडो ठूलो घमण्डका साथ भन्न सक्छु—तारिणीप्रसाद कोइरालाको कलमले लडेको थियो। नेपाली जनतामा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सन्देश पुर्‍याउने काम “आँधी”, “हुरी”, “दियालो”, “कल्पना” र “नेपाल पुकार” ले जुन दक्षताका साथ गरे मूल्यांकन हुन बाँकी नै छ। यी पाँचओटा अखबारहरूले रोपेको बीउ नै अहिले अंकुरमा परिणत भएर हामी लोकतन्त्रसम्म आईपुगेका छौँ भन्नमा मलाई द्वीविधा हुँदैन। इतिहासले तारिणीप्रसाद कोइरालाका बारेमा निर्णय गर्न अबेर गर्ला तर अन्याय गर्दैन भन्ने मलाई विश्वास छ। यी पाँचओटा अखबारले नेपाली जनताको मनको कुरा बोल्थे र समाजलाई त्यैतिर डोर्‍याउँथे। यी पाँचओटा अखबारमा नेपाली जनता आफ्नो मनको प्रतिध्वनी पाउँथे र प्रजातन्त्रको रक्षा गर्नुपर्छ भनेर प्रेरित हुन्थे। यीनैले गरेर २०१७ साल पुस १ गते राजा महेन्द्रले शीसु प्रजातन्त्रको हत्या गरेपछि प्रजातन्त्रको पुन:स्थापनाका लागि त्यति धेरै योध्दाहरूले आफ्नो प्राणको बाजी लगाए।

आधुनिक नेपालको कुनै पनि संवेदनशील नागरिक राजनीतिबाट चाहेर पनि अलग्ग हुन सक्तैन। यो यथार्थ हो । तारिणी बुबा पनि यहि यथार्थमा पर्नु भयो। एउटा संवेदनशील साहित्यनुरागीले आफ्नो जीवनको महत्वपूर्ण १० वर्ष जेलको कालकोठीमा व्यतित गर्नुपर्‍यो। यो आधुनिक नेपालको तीतो यथार्थ हो।

तारिणी बुबा कोइराला परिवारको एउटा रत्न हुनुहुन्थ्यो, साहित्य, संगीत र सृजनाको एउटा अभेद्य किल्ला हुनुहुन्थ्यो। २०१७ साल पुस १ गते पछि लगातार ७ वर्ष जेलमा रहँदा उहाँले धेरै सृजना गर्नु भयो त्यसमध्ये एउटा हो “नैनी” महाकाव्य। उहाँले म र मेरी बहिनी चेतनालाई यो महाकाव्य सुनाउनुहुन्थ्यो। त्यसमा रहेको सरस्वति बन्दना अहिले पनि मलाई कण्ठस्थ छ, “ छ छलकिदै छ, पोखिदैछ छल्छली।“

उहाँमा अद्भुत कल्पना शक्ति थियो। बालमनोविज्ञानमा आधारित उहाँद्वारा रचित “सर्पदंश” मेरो विचारमा नेपाली भाषा र साहित्यमा लेखिएको सर्वोत्कृष्ट उपन्यास हो। तारिणी बुबासँगका धेरै स्मृतिहरू मेरो मस्तिष्कमा छन तर अहिलेको आपाधापीमा वर्णन गर्न कठिन भइरहेकाले यतिमै स्मृतिको यो पानालाई समाप्त गर्दछु।